काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि गत जेठ ३० गतेदेखि असार १८ गतेसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेहरूमा १९ जना पुरुष, नौ जना महिला, तीनजना बालक र तीनजना बालिका रहेको नेपाल प्रहरीले जारी गरेको तथ्याङ्का उल्लेख छ । तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पामा तीन जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, छ जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा दश जना, सिन्धुपाल्चोक र रोल्पामा पाँचरपाँच जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीनरतीन जना, जुम्ला र गोरखामा दुई/दुई जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एक जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, छ जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परेका १ हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका स्थानहरुमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech