भक्तपुर । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।
कांग्रेसले यही निर्णय गर भनेर अदालतलाई नधम्क्याउने र नतर्साउने देउवाको भनाइ छ। राजाको प्रत्यक्ष शासन रहेको पञ्चायती व्यवस्थामा पनि अदालतले स्वतन्त्र निर्णय दिएको स्मरण गर्दै ‘पञ्चायतमा पनि हामीले न्याय पाएको उनले बताएका हुन् ।
भक्तपुरको मध्यपुर थिमीमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अदालतको निर्णय कांग्रेसले मान्ने र अदालतको निर्णयलाई सम्मान गर्दै आएको उनले बताए।
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने वा प्रधानमन्त्री केपी शर्माओलीको असंवैधानिक कदम सदर गर्ने जुन निर्णय दिए पनि कांग्रेसले मान्ने उनको भनाइ थियो। साथै अदालतको निर्णयसम्म कांग्रेसले पर्खन्छ’, कांग्रेस जनताबीच जान तयार भएर बस्नुपर्छ।’ उनले विघटनविरुद्ध अरू पार्टीले सँगै आन्दोलनमा जान आग्रह गरिरहेको जानकारी दिए।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लैले संघर्ष गर्ने उद्घोष गर्दै उनले एक्लै संघर्ष गर्दा आफ्नो शक्ति र संख्याको आकलन हुने स्पष्ट पारे। प्रतिनिधिसभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक कदम भएकाले त्यसविरुद्ध कांग्रेस एक्लैले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको उनको स्पष्टोक्ति थियो। पहिले संयुक्त आन्दोलन गरिँदा धोका पाएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस कसैसँग मिलेर संसद् विघटनविरुद्ध जाँदैन। हामी एक्लै आन्दोलनमा जान्छौं। एक्लै संघर्षमा जाँदा कांग्रेसका शक्ति र संख्याको पनि आकलन हुन्छ र जनतालाई पनि हाम्रो स्पष्ट अडान र धारण बताउन सकिने छ ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, क्षेत्र नम्बर १ का सभापति जीवन खत्री, क्षेत्र नम्बर २ का सभापति नारायणभक्त खायमलीलगायतले संविधानविरोधी कदमविरुद्ध सबै आन्दोलित हुनुपर्ने धारणा व्यक्त गरेका थिए। भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा सोमबार कांग्रेसले विरोधभसभा आयोजना गरेको थियो। भक्तपुर कमलविनायकबाट जुलुस प्रदर्शनपछि भक्तपुर नगरपालिका कार्यालय परिसरमा विरोधसभा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया