सप्तरी । जनमत पार्टीले इलाम-२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनलाई पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा उम्मेदवार बनाइएको जनमतका अध्यक्ष राउतले बताएका छन्। थाम्सुहाङ कोसी प्रदेशको नाम फेर्ने अभियानमा छन्। उनी कोसीको नाम किरात-लिम्बुवान प्रदेश राखिनुपर्ने अभियानका अध्यक्ष पनि हुन्।
जनमतले उम्मेदवार बनाएपछि थाम्सुहाङले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सबै पहिचानवादीको साझा हुने कोसिस गरिरहेका छन्। उनले आफ्ना चुनावी एजेन्डासहित प्रचार अभियानलाई अघि बढाएका छन्। उनले कोसीको नाम ‘किरात-लिम्बुवान’ राख्नका लागि संघीय संसद्मा आवाज लैजाने बताएका छन्।
उनले चुलाचुलीमा इलाका प्रशासन र मालपोत कार्यालय स्थापना गर्ने पनि जनाएका छन्। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुँदैछ। नेकपा एमालेले इलाम २ मा सुवासका पुत्र सुहाङलाई टिकट दिइसकेको छ।
तपाईको प्रतिक्रिया