लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेको छ ।
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेको थियो । प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेको थियो । प्रधानमन्त्री आइपुग्दा उनलाई सर्वसाधारणले समेत स्वागत गरेका छन् ।
पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका-२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरेको छ । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।
पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया-महदेवा वारिपारि गर्न सहज भएको छ । -रासस
तपाईको प्रतिक्रिया