द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई द कम्पनीका प्रमुख भएको मानिन्छ। उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ। संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो।
अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ। अस्ट्रेलियाको सङ्घीय प्रहरी ९एएफपी० देशमा भित्रिने कुल लागुऔषधिमध्ये करिब ७० प्रतिशत साम गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने विश्वास गर्छ। छपन्न वर्षीय सोलाई उनको अवैध साम्राज्यको आकारका कारण मेक्सिकोका लागुऔषध कारोबारी ह्वाकिन एल च्यापो गुज्मानसँग तुलना गरिएको छ।
एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका सो शुक्रवार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका थिए। उनको नाम उल्लेख नगरिएको एउटा वक्तव्यमा प्रहरीले ती सन्दिग्धविरुद्ध सन् २०१९ मा एउटा पक्राउपुर्जी जारी भएको जनाएको छ। त्यसमा डच प्रहरीले इन्टरपोलको सूचनामा काम गरिरहेको उल्लेख छ।बीबीसी
तपाईको प्रतिक्रिया