सप्तरी । कविता कृति ‘कविताहरूको सगरमाथा’को विमोचन हुने भएको छ ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपालले उत्कृष्ट ७१ कविका कविताहरू समेटी तयार पारेको कविता कृतिको यही पौष २५ गते शनिबार बिहान ११ बजे पोखरा, चिप्लेढुङ्गास्थित ‘दि भिलेज रेष्टुरेन्ट’मा विमोचन गर्ने भएको हो ।
उक्त कार्यक्रममा यस संस्थाले गतवर्ष आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगिता-२०७६ मा पुरस्कृत कविहरूलाई स-सम्मान पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नेछ । गतवर्ष आयोजना गरिएको विश्वव्यापी कविता प्रतियोगिताको पुरस्कार वितरण विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना महामारीको कारण केही महिना ढिलो हुन पुगेको जनाइएको छ ।
कविता प्रतियोगितामा देश विदेशबाट ३५० भन्दा बढी कविताहरू समावेश भएका थिए । पुरस्कार राशी रु ५५,५५५ रहेको यस प्रतियोगितामा रौतहटका कवि मनोज विश्वकर्माको कविता ‘हजारौं हातको हस्ताक्षर’ सर्वोत्कृष्ट भएको थियो । जसमा निर्णायकहरू दार्जिलिङ भारतबाट वरिष्ठ कवि मनप्रसाद सुब्बा, नेपालबाट वरिष्ठ कवि श्रवण मुकारुङ र वरिष्ठ कवि डा. रामप्रसाद ज्ञवाली रहेका थिए । कविता प्रतियोगिताको संयोजन जीवित खड्का मगरले गरेका थिए ।
यूएईस्थित अवुधावीमा २०६९ सालमा जन्मिएको यश संस्थाले २०७५ सालमा विश्वव्यापी गजल प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट १० गजलसहित १०५ ओटा गजल सङ्रहित संयुक्त गजलसङ्ग्रह ‘अक्षरहरूको सगरमाथा’ प्रकाशनपूर्व पनि ‘प्रवासका फूलहरू’ संयुक्त कवितासङ्ग्रह प्रकाशित गरिसकेको छ । ‘कविताहरूको सगरमाथा’ यस संस्थाको तेस्रो कृति हो । जसमा प्रतियोगिताबाट छानिएका उत्कृष्ट ११ कवितासहित देशविदेशमा छरिएर रहेका ७१ कविका कविता समाविष्ट छन् । जसको आवरण जीवित खड्का मगरले गरेका छन्, भने सजावट वसन्तराज अज्ञातले गरेका छन् । साथै समर चेम्जोङ आभाष, जीवित खड्का मगर र खगेन्द्र समरसले पुस्तकलाई सम्पादन गरेका छन् ।
अरबबाट विकसित यस संस्थाले आफ्नो नेपाल शाखा गठन गरिसकेको र भर्खरैमात्र गण्डकी प्रदेश शाखासमेत गठन गरेको छ । बागमती प्रदेश शाखा गठन अन्तिम तयारीमा रहेको र यसरी नै सातै प्रदेशमा प्रदेशस्तरीय शाखाहरू गठन हुनेछ । पौष २५ गते पोखरामा हुन लागेको यस कार्यक्रमको ब्यवस्थापन गण्डकी प्रदेश शाखाले गर्दै छ । डा. योगी विकाशानन्दको प्रमुख आतिथ्यमा प्राज्ञ अग्रज कविहरू र विशिष्ट व्यक्तित्वहरूको समुपस्थिति रहने कार्यक्रममा वरिष्ठ कवि मनप्रसाद सुब्बा, वरिष्ठ कवि श्रवण मुकारुङ, वरिष्ठ कवि डा. रामप्रसाद ज्ञवाली, वरिष्ठ कवि तीर्थ श्रेष्ठ, वरिष्ठ गजलकार प्रकट पंगेनी शिव, बरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठसहित विभिन्न चर्चित साहित्यस्रष्टा-सर्जक र साहित्यानुरागी महानुभावहरूको उपस्थिति रहने कार्यक्रम संयोजक तथा केन्द्रीय सचिव अजित क्षेत्रीले बताए ।
हरेक वर्ष विश्वव्यापी प्रतियोगितापश्चात् पुस्तक प्रकाशन गर्दै आइरहेको यस संस्थाले यसरी नै साहित्यको श्रीवृद्धिमा लागिरहने प्रतिवद्धता व्यक्त गर्दै पछिल्लो वर्ष भरतपुरमा सम्पन्न पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रममा झैं यसपटक पनि कार्यक्रमलाई घनिभूतरूपमा सफल पार्न सम्पूर्ण साहित्यस्रष्टा, सर्जक तथा साहित्यानुरागी महानुभावहरूलाई उपस्थित भई अझ भव्य र ऐतिहासिक बनाइदिनका लागि सगरमाथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कृष्ण विश्वकर्माले अनुरोध गरेका छन् ।
(समाचारका लागि सपना समर्पिका न्यौपाने, मोरङबाट)
तपाईको प्रतिक्रिया