जनकपुरधाम। जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा आएको छ ।
छ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र छ तले कन्ट्रोल टावर निर्माण गरिएको जनकपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त टर्मिनल भवन छ सय यात्रु रहन सक्ने क्षमताको छ । साथै ८० वटा कार र १५० मोटरसाइकल पार्किङ सुविधा तथा ३५ सुरक्षाकर्मीका लागि आवास गृहसमेत निर्माण गरिएको छ ।
आठ वर्षअघि २०६९ कात्तिकमा १८ करोड रुपियाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले उक्त टर्मिनल भवन शिलान्यास गरेका थिए ।
डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो । प्राविधिक समस्या तथा रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
तपाईको प्रतिक्रिया