यूकेमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ।
ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ।
भारतले गत साता नै कैयन् अन्य देशजस्तै यूकेबाट विमानसेवामार्फत् आवतजावतमा रोक लगाएको थियो। यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्।
एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ। यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।
तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ। गत एक महिनामा यूकेबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ।
क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ। सोमवार त्यहाँ ४१,३८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३५७ जनाको ज्यान गएको थियो। त्यो नयाँ प्रकारको भाइरसले बरबाद पार्न सक्छ र हाम्रा स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त पारिदिन सक्छ, भारतमा सयौँ कोरोनाभाइरसका बिरामीको हेरचाह गरिसकेका सघन उपचार विशेषज्ञ डा ए फताहुद्दीनले बीबीसीलाई बताए।
नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ। प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।
यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स ग्यालहरले बताएका छन्। तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन। साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्।– बीबीसी
तपाईको प्रतिक्रिया