काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अरु शहरी क्षेत्रको वायु प्रदूषणमा कमी आउने क्रम सुरु भएको छ ।
केही दिनदेखि अत्याधिक बढेको काठमाडौँ उपत्यकासहित देशका अरु शहरी क्षेत्रको वायु प्रदूषणमा कमी आउने क्रम सुरु भएको मौसमविद तथा वातावरणविदले बताएका हुन् ।
वायुको गति केही बढेसँगै वायुमण्डलमा रहेका धुलोका कणहरु चलायमान भएका र सोही कारण अघिल्ला दिनको तुलनामा प्रदूषण कम हुने क्रम सुरु भएको मौसमविद वरुण पौडेलले बताएका छन् ।
मौसमविद पौडेलले भने, ‘काठमाडौँ उपत्यकासहित देशभर अहिले पश्चिमी वायुको प्रभाव छ । अघिल्ला दिनहरुमा हावाको गति कम थियो, तर मंगलबार बेलुकादेखि हावाको गति केही बढेको छ । आज काठमाडौँको मौसमी अवस्था अघिल्ला दिनको जस्तो धुम्मिएको हुने छैन ।’
अहिले बिहान केही हुस्सु लागेको भए पनि बिस्तारै खुल्दै गएर दिउँसो घाम लाग्ने देखिए पनि पूरै घमाइलो भने नहुने उनले बताए । वायुको गति बढे पनि छिटफुट बाहेक पानी पर्ने सम्भावना भने छैन ।
तपाईको प्रतिक्रिया