राजविराज । सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका साह परिवारको सपना खरानी भएको छ।
सन्तानलाई राम्रो शिक्षा दिने सपना देखेर रकम जम्मा गरेका साह परिवारको सपना खरानी भएको हो। धान काटन सपरिवार खेत गएका बेला बिहीबार दिउँसो आनन्द साहको घरमा भएको आगलागीले घरसँगै सपना खरानी भएको हो।
आगलागीमा परेर उनको घर र गोठ स्वाहा भयो। घरमा रहेको लत्ताकपडा, अन्नसहित छोराछोरीको क्याम्पस भर्नाका लागि जम्मा गरेको १ लाख ७५ हजार नगदसमेत जलेर खरानी भएको साहले बताए।
आगो दन्किएपछि भेला भएका स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिए। आगो फैलिनबाट रोकिए पनि साह परिवारको छोरा–छोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताए।
‘धान खेत गएका बेला हल्ला सुनेर घर आयौ, हेर्दाहेर्दै सबै खरानी बनायो’ गहभरी आँसु पार्दै उनले भने, ‘केही बचाउन सकिएन। घरभरी आगो फैलिसकेकाले पैसा समेत निकाल्ने मौका पाइनँ।’
छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर उनले नगद १ लाख ७५ हजार जोहो गरेका थिए। नगदसहित सुनचाँदीको गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको लक्ष्मी साह बताउँछन्। अन्नपूर्णबाट
तपाईको प्रतिक्रिया