कोरोनाभाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन्। मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने बताइएको छ।
यसक्रममा १० वटा उपायहरूको घोषणा गर्दै बाइडनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने बताए। अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले यी घोषणा गरेका हुन्। ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका थिए।
सो प्रशासनको नीतिभन्दा बेग्लै बाइडन प्रशासनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ। ‘यो युद्धकालीन यत्न हो’ बाइडनले भने। उनले द्वितीय विश्वयुद्धमा भन्दा धेरै अमेरिकीहरूको ज्यान कोभिडले लिइसकेको उल्लेख गरेका थिए।
राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन तर बाइडनले घोषणा गरेका कैयौँ उपायहरू कार्यान्वयन गर्न आवश्यक स्रोतको व्यवस्था उनले गत साता सार्वजनिक गरेको १.९ ट्रिलियन डलरको राहत प्याकेजमा राखिएको छ। सो प्याकेज पारित गर्न उनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्छ।
उनको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्नुपनि रहेको छ। साथै अब अमेरिका जान चाहने अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्छ अनि त्यहाँ पुगेपछि १४ दिन स्वयम् क्वारन्टीनमा रहनुपर्छ।
सबै सङ्घीय परिसरमा मास्क तथा सामाजिक दूरी अनिवार्य गरिएको छ। त्यस्तै नियम विमानस्थल तथा कैयन् विमान, रेल तथा बसमा पनि लागु गरिनेछ। बीबीसी
तपाईको प्रतिक्रिया