विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ।
ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। अहिले भारतमा दुईवटा खोपलाई अनुमति दिइएको छ। ती खोप कोभिशील्ड (यूकेमा विकास गरिएको अक्सफर्ड-एस्ट्राजेने खोपको स्थानीय नाम) र कोभ्याक्सीन हुन्।
भारतमा परीक्षणमा रहेका अन्य खोप पनि उत्पादन गरिँदैछ। केही महिनाअघि भारतीय औषधि उत्पादक कम्पनीहरूले उत्पादनलाई तीव्रता दिने खबरहरू आएका थिए। सबैभन्दा ठूलो उत्पादक सीरम इन्स्टिट्यूट अफ इन्डियाले आफूले प्रत्येक महिना छ करोडदेखि सात करोड मात्रा खोप उत्पादन गर्न सक्ने बताएको छ।
भारत बायोटेक कम्पनीले एक वर्षमा २० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। तर उक्त कम्पनीसँग अहिले दुई करोड मात्रा कोभ्याक्सीन मात्र उपलब्ध छ। परीक्षणमा रहेका अन्य उत्पादक कम्पनीहरू खोप उत्पादनपछिको आपूर्तिबारे भारतीय अधिकारी र अन्य देशहरूसँग वार्तामा छन्।
तर अहिलेसम्म खोपको मात्राबारे निकै कम जानकारी उपलब्ध छ। भारत सरकारले भाइरससँग सङ्घर्ष गर्ने प्रारम्भिक योजनाको अङ्गको रूपमा जुलाई महिनाको अन्त्यसम्ममा प्राथमिकताको सूचीमा रहेका ३० करोड मानिसलाई खोप दिने जनाएको छ। ज्यानुअरी १६ तारिखबाट खोप दिन सुरु गरिनेछ। त्यसमा स्वास्थ्य कार्यकर्ता र अग्रभागमा खटिने मानिसहरूलाई प्राथमिकता दिइनेछ। बीबीसी
Copyright © 2026, All Rights Reserved | Developed By ProTech