सप्तरी । भारतले कोभिड-१९ विरुद्ध आम खोप अभियान चलाउन तयारीको परीक्षणका निम्ति शनिवार देशभरि रिहर्सल गर्दैछ।

दशौँ हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको तयारी अवस्था जाँच्ने र करोडौँ मानिसहरूलाई खोप दिनका निम्ति आवश्यक प्रशिक्षणको जाँच उक्त अभ्यासमा गरिने बताइएको छ।

Your Ad Code Here

औषधि विज्ञहरूको समूहले भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोप प्रयोग सिफारिस गरेको भोलिपल्ट देशभरि तयारी जाँच्न खोप लगाउने अभ्यास गरिँदै छ। भारतमा आउने साताहरूमा कोरोनाविरुद्ध खोप अभियान थालिने बताइएको छ।

एक अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा आम खोप अभियान निकै जटिल र चुनौतीपूर्ण हुने ठानिन्छ। त्यसमा खटनपटनदेखि लिएर प्रशासनिक जटिलतापनि हुनसक्छन्। खोपको वितरणमा त्यस्ता जटिलता र ढिलासुस्ती नहोस् भनेर देशव्यापी अभ्यास गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।

त्यस्तो अभ्यास भारतका एक सय जिल्लाहरूमा गरिँदै छन्। अभ्यासको क्रममा स्वयंसेवकहरू सामान्य खोप अभियानमा जस्तै गरि तोकिएका केन्द्रहरूमा जानेछन्। अधिकारीहरूले खोप वितरणमा आवश्यक चिसो भण्डारण प्रणाली तथा वितरण केन्द्रहरूको जाँच गर्नेछन्।

पहिलो चरणमा भारतमा ३० करोड मानिसलाई खोप लगाउने योजना रहेको छ। शुक्रवार भारतमा विज्ञहरूको समितिले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई सिफारिस गरेको थियो। उक्त खोप भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ।

त्यहाँ खोपको अन्तिम स्वीकृति सरकारको औषधि नियामक निकायले केही दिनमा दिने बताइएको छ। भारतमा एक करोडभन्दा धेरै मानिसहरूलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने डेढ लाख जनाको ज्यान गइसकेको छ।-बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग