भारतका वन अधिकारीहरूले घ्रसेर हिँड्ने सरीसृप र अन्य साना वन्यजन्तुलाई उत्तराखण्डको एउटा व्यस्त सडक पार गर्न सहयोग पुग्नेगरी विशेष पुलको निर्माण गरेका छन्।

नब्बे फुट अर्थात् २७ मिटर लामो उक्त “इको ब्रिज” बाँस, जुट र घाँसबाट बनेको र त्यस्तो खालको पहिलो संरचना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। लोकप्रिय पर्यटकीय गन्तव्य नैनीताल जाने उक्त राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण कैयौँ वन्यजन्तुको ज्यान जाने गरेको छ।

Your Ad Code Here

लक्षित वन्यजीवले पुलमा प्रयोग गरून् भनेर त्यसमा घाँस र लहराहरू उमार्ने काम गरिएको अधिकारीहरूले बताएका छन्। उत्तराखण्डका वन अधिकारी चन्द्रशेखर जोशीले बीबीसीसँग भने, “कैयौँ सरीसृपहरू र अरू साना जीवलाई यो राजमार्गमा पर्यटकले चढ्ने सवारीसाधनहरूले मार्ने गर्दै आएका छन्।”

उनले वन्यजन्तुको आवतजावत निगरानी गर्न अधिकारीहरूले पुलको दुवैतिर क्यामरा जडान गरिएको पनि जानकारी दिए। अहिले उक्त पुल नै पर्यटकहरूको आकर्षणस्थल बनेको छ र त्यहाँ रोकिएर धेरैले तस्बिर र सेल्फी खिच्न थालेका छन्।

तर वन विभागले उक्त पुलले चाँडै वन्यजन्तुलाई पनि आकर्षण गर्ने अपेक्षा राखेको छ। “यो एउटा घना जङ्गल हो र यहाँ हात्ती, चितुवा, हरिणजस्ता जीव हिँडडुल गर्छन्। चालकहरूले उनीहरूलाई परैबाट देख्ने हुँदा या त रोक्छन् या गति कम गर्छन्। तर उनीहरूले सर्प, माउसुली, लोखर्केको हकमा कमै मात्र त्यस्तो गर्छन् ” एक वन अधिकारीले समाचारपत्र द इन्डियन एक्सप्रेससँग भनेका छन्।

अधिकारीहरूले यो पुलले त्यस क्षेत्रमा रहेका साना जन्तु र सरीसृपहरूबारे जनचेतना जगाउने र उनीहरूको संरक्षणमा सहयोग गर्ने विश्वास राखेका छन्। बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग