महोत्तरी । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ ।
पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारू र मगर बस्तीमा तिलासक्रायत पनि भनिने माघेसङ्क्रान्ति पर्वको चहलपहल बढेको हो ।
महोत्तरीसहितका मिथिला क्षेत्रका थारू बस्तीमा यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई डाक्न थालिएको पाका थारूको भनाइ छ ।
“अब पवनी आई त हाल्यो”, चिउरा कुट्न धान भिजाउँदै गरेकी भङ्गाहा नगरपालिका–४ रामनगरको थारूटोलकी रसिया थारूले भने, “सबै कुराको जोगार मा लाग्नुपर्यो नि ।” पर्व नजिकिएसँगै थारू बस्तीका घरघरैजसो सर्जाम जुटाउने चटारो बढेको रसिया बताउन्छन् ।
त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेको मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनीलाई चाडमा डाक्ने चलन छ ।
महोत्तरीका उत्तरी क्षेत्रका बर्दिवास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ । यसैगरी बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारू बसोबासको बाहुल्य छ ।
पर्व नजिकिँदै गर्दा थारू र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम शुरु भएको छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारू बसोबास बाहुल्यका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिवासको मेघरोल र रामगोपालपुर नगरपालिकाको बिश्वम्भरपुर थारू बसोबासका बस्ती हुन् ।
थारू र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्वविशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा मकरसङ्क्रान्ति र तिलासक्रायत पनि भनिने यो पर्वमा खास महत्वको मानिने तिल, सक्खर, चिउरा र मुरीको बजार बाक्लै जम्न लागेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तिल, चिउरा, मुरी र जुनेलोलाई बनाइने मैथिल परम्परा छ ।
तिलासक्रायत पर्वमा तिल, चिउरा, जुनेलो र मुरीका लाई ९लड्डु० बनाएर कूलदेवतालाई चढाई इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तिल र सक्खरको मूल्य भने आकाशिएको छ । रासस
तपाईको प्रतिक्रिया