फतेपुर (सप्तरी) । जनकपुरधाममा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिएअनुसार जनकपुर उप(महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।
साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेका हुन् । आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको सिग्देलले बताए । छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ ।
आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पत्नी र छोरीमाथि एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर(४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया