ताप्लेजुङ/पाँचथर । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनपछि दुवै पक्ष एक अर्काको विरोधमा उत्रिएका छन्। दाहाल–नेपाल समूहले मंगलबार ताप्लेजुङ र पाँचथरमा विरोध कार्यक्रम गरे। पछिल्लो समय दाहाल–नेपाल समूह र ओली समूहले देशव्यापी रूपमै विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
कार्यक्रमलाई सो समूहका अध्यक्ष माधवकुमार नेपाल, सचिवालय सदस्य जनार्दन शर्मा, स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायतका केन्द्रीय नेताहरूले सम्बोधन गरे। कार्यक्रममा सहभागी हुन नेता नेपाल र शर्मा हेलिकप्टरमार्फत पुगेका थिए। पाँचथरको कार्यक्रममा सम्बोधन गरेर शर्मा हेलिकप्टरमा ताप्लेजुङ आए। त्यसपछि नेता नेपाललाई लिन हेलिकप्टर पाँचथर गएको थियो। पाँचथरमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएपछि नेता नेपाल ताप्लेजुङ आएका हुन्।
ताप्लेजुङको फुङलिङ बजारमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा खर्चिए। उनले अब केपी ओलीको युग सकिएको बताएका छन्। सर्वोच्च अदालतको फैसला आएपछि ओलीको नामनिशाना नै हराउने नेपालले दाबी गरे।
‘कसैलाई नटेर्ने, सबैलाई अपमान मात्रै गर्ने, म मात्रै सर्वेसर्वा हुँ भन्ने ओली दुर्भाग्यवश प्रधानमन्त्री बन्न पुगे, पार्टी अध्यक्ष बन्न पुगे,’ पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘अझै बालुवाटारमै बस्छु भनिरहेका छन्, अदालतको फैसला नआउन्जेल बसुन्, त्यसपछि खुरुक्क बालुवाटार जान्छन्, नभए तेह्रथुमको घरमा आएर बसे पनि फरक पर्दैन।’ केपी ओलीको पछि लाग्नेले जीवनभर पछुताउनुपर्ने नेपालको भनाइ छ। पूर्वदेखि पश्चिमसम्मकै जनताले ओलीको प्रतिगमनकारी कदमविरुद्धमा रहेको उनले बताए। पुस ५ गते बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टीको अध्यक्षबाट केपी ओलीलाई हटाउने निर्णय गरेको र पुस ७ गतेको केन्द्रीय कमिटीको बैठकले त्यसलाई अनुमोदन गरेकाले अब उनले अध्यक्षमा दाबी गर्ने कुनै ठाउँ नभएको नेपालको भनाइ छ। ओलीलाई उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेपालले बताए।
चार सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय बढी हामीसँग छन्, केपी ओली एण्ड कम्पनीसँग यो पार्टीमा दावा गर्ने कुनै पनि आधार छैन,’ नेपालले भने, ‘अब कुनै सानो गुट चलाएर बसे हुन्छ, उनी हाम्रो पार्टीका साधारण सदस्यसमेत होइनन्, अध्यक्ष त धेरै टाढाको कुरा हो।’ जहाँ पार्टी छ निर्वाचन चिह्न त्यसैको हुने नेपालले बताए । अन्नपुर्णपोष्टबाट
तपाईको प्रतिक्रिया