काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिएको बताएका छन् ।
एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिएको बताएका हुन् । साथै प्रचण्डले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने पनि बताए ।
प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’
त्यस्तै संविधान बचाउने, प्रणालीको रक्षा, र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।
प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उनलाई प्रधानमन्त्री वा उनले कोही भन्यो भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’
तपाईको प्रतिक्रिया