काठमाडौँ । संविधान निगरानी समूहले प्रतिनिधिसभा विघटनबाट संविधान कार्यान्वयनमा गम्भीर विचलन र अवरोध आएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
संविधानको धारा ७६ अन्तर्गतका उपधारा १ देखि ७ सम्म मन्त्रिपरिषद गठन सम्बन्धी प्रावधानहरू रहेको र सो बमोजिम प्रक्रिया अबलम्बन गर्दा पनि मन्त्रिपरिषद गठन हुन नसकी मौजुदा प्रतिनिधिसभाबाट अर्को मन्त्रिपरिषद गठन हुने सम्भावना नै नरहेको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीले सिफारिस गर्नसक्ने व्यवस्था रहेको समूहले जनाएको छ ।
तर त्यस्तो अवस्था नै विद्यमान नरहेकोमा आकर्षित हुनै नसक्ने धारा ७६ (७) को प्रावधान आकर्षित गरी विघटनको सिफारिस भएको र सो बमोजिम विघटन गर्ने गरेको कार्यबाट संविधान र संविधानवादको मर्ममा नै प्रहार गरेको समूहको भनाई छ ।
यसबाट संकीर्ण राजनीतिक स्वार्थ र दाउपेचमा संवैधानिक पद्धति आहत भएको अनुभव भएको समूहले विज्ञप्ति जारी गरेर भनेको छ । समूहले मंगलबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘राजनीतिक आवश्यकता वा बाध्यता जस्तो कुनै तर्कबाट संविधानमाथि राजनीति गर्न मिल्दैन, देशको राजनीतिक पद्धति संविधानको शब्द र भावना अनुसार सञ्चालन हुनुपर्ने समूहको निष्कर्ष छ ।
अतः संविधानको मूल मर्मबाट विचलित भएर सिर्जना भएको वर्तमान परिस्थितिलाई संविधान र संविधानवाद भित्र नल्याउने हो भने संवैधानिक पद्धतिको कार्यान्वयन भविष्य सम्म दिग्भ्रमित हुने भई संवैधानिक औचित्य नै संकटमा पर्ने प्रष्ट छ ।’
अघि भनिएको छ, ‘तसर्थ संविधान कार्यान्वयनको सरोकारवाला संवैधानिक अंग र राजनीतिक दलहरु र आम जनताले आ–आफ्नो भूमिकालाई हृदयंगम गरी संविधान बमोजिमको अवस्था कायम राख्न जो जे गर्नु पर्ने गर्न र आत्मा साक्षी राखी इमान्दार प्रयास गर्न सम्बन्धित सबैमा आह्वान गर्दछ ।’
विकसित भइरहेको घटनाक्रमहरुलाई निरन्तर निगरानी गर्ने र संविधानको कार्यान्वयनमा कुनै हदमा पनि विचलन आउन नदिने प्रयोजनको लागि र संविधान बमोजिम सीमित शासन सुनिश्चित गर्न निरन्तर पहरेदारी गर्न समूहले आह्वान गरेको छ ।
समूहमा कल्याण श्रेष्ठ, हिमालय शम्शेर जबरा, डा. सूर्य ढुंगेल, तिर्थमान शाक्य, खिमलाल देवकोटा, मोहनदास मानन्धर, जर्ज भरजियस, डा. सिलु बज्राचार्य, डा। ऋषिकेश वाग्ले, डा. विपिन अधिकारी, चण्डेश्वर श्रेष्ठ र कृष्णमान प्रधान रहेका छन् । –रासस
तपाईको प्रतिक्रिया