काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सी.पी. मैनालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिलेको अवस्थामा विदेशीको उक्साहटमा फुटको दिशामा जानु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
पार्टीको आन्तरिक विवाद पार्टी भित्रैबाट सल्टाउनु नै अहिले मुलुक र जनताको हितमा हुने उनले सुझाव दिएको हो ।
गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्दै महासचिव मैनालीले नेतृत्वको झगडालाई पार्टीको दोस्रो तेस्रो तहका नेताहरु सक्रिय भएर सल्टाउनु पर्ने बताएका छन् । “अहिलेको अवस्थामा न नेपाली जनताले नेकपा फुटेको हेर्न चाहेका छन्, न सरकार परिवर्तन भएको, दुवै अवस्था आए मुलुक दुर्घटनामा फस्छ” उनले भन्ननेका छन् । सरकारको कैयौं आलोचना योग्य काम भए पनि मुलुक र जनताले अहिले स्थीर सरकार र राजनीतिक स्थायित्व चाहेको महासचिव मैनालीले प्रष्ट पारेको हो ।
नेकपा फुटाउन बाह्य र आन्तरिक शक्ति क्रियाशील रहेको चर्चा गर्दै महासचिव मैनालीले भनेका हुन्, “नेकपा एकताबद्ध रहनु मुलुक एकतावद्ध रहनु हो, अहिलेसम्मको उपलब्धि संस्थागत हुनु हो, फुट भयो भने प्रतिक्रान्ति शक्तिको जित हुन्छ ।” “नेकपा फुट्नु भनेको जनता र राष्ट्रको बचेको अधिकार गुम्नु हो त्यसैले नेकपा माले चाहन्छ, नेकपा नफुटोस्” महासचिव मैनालीले भनेका छन् ।
“नेकपा फुट्यो भने लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग फिर्ता आउँदैन, संसदमा प्रस्तुत हुने नागरिकता संशोधन विधेयक पास हुँदैन, भारतीय हस्तक्षेप झन बढ्छ” भन्दै महासचिव मैनालीले नेकपा फुटेमा अस्थिरताको दौड पुनः शुरु हुने बताएका छन् ।
यो सरकार असफल हुने वित्तिकै गठबन्धनको सरकार बन्ने र मुलुक अस्थिरतामा पुनः गाँजिने उहाँले चर्चा गर्नुभयो । आफ्नो गल्ती कमजोरीको समीक्षा गर्दै समस्या समाधान गर्न सकिने उहाँले नेकपा नेतृत्वलाई सुझाव दिनुभयो ।
विदेशीको शक्ति चलखेलकै कारण पनि नेकपाभित्र विवाद चुलिएको दावी गर्दै महासचिव मैनालीले भनेका छन् ।, “बाह्य शक्तिले नेपालमा स्थीर सरकार स्वीकार गरेकै छैन, नेकपा फुटाएर मुुलुकमा पुनः राजनीतिक अस्थिरता ल्याउन खोजेको छ” उनले बताएका छन् ।, “नेकपालाई कुनै हालतमा फुट हुनबाट जोगाउनुपर्छ, नत्र यसको फुटसँगै देश र नेपालीको भाग्य फुट्छ ।” केपी शर्मा ओली नेतृत्वको सरकारले कैयौं काम गर्न असफल भए पनि अहिलेको आवश्यकता स्थिर सरकार र राजनीतिक स्थिरता भएको भनेका छन् ।
“सल्लाहले पद फेरबदल गर्न सकिन्छ, जो भए पनि पार्टीकै नेता हुने हो, बीसको उन्नाइस होला तर देशको स्थिरता र गतिशीलता बच्छ” “विदेशीको उचल्याई र आशीर्वादमा लागेर पार्टी तोड्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । पार्टी विभाजन गरेर गठबन्धन सरकार बनाउनेतिर अहिले जानु उचित होइन ।” सरकारको आलोचना गर्ने ठाउँ प्रशस्त भएपनि मुलुक र जनताका लागि नेकपा एकतावद्ध हुनु आवश्यक रहेको उनले बताएका छन् ।
“भएका गल्ती कमीकमजोरी सच्याउँ, देशमा स्थिरता कायम गरौं, फुटले न देश र जनताको हित हुन्छ, न नेकपाकै हितमा छ” भन्दै “नेकपाको नेतृत्वले आफ्नो गल्ती कमजोरी सच्याएर अघि नबढे आगामी निर्वाचनमा जनताले दण्ड दिन्छ, त्यसका लागि नेकपा तयार रहनुपर्छ ।” नेकपा फुटेर देशलाई भड्कालोमा पर्नेकाम नहोस् भन्ने हाम्रो पार्टीको शुभेच्छा र चाहना हो ।
नेपालीको भाग्य र भविष्य हेरेर नेकपाका नेताहरुले फैसला गर्नुपर्ने भन्दै पूर्व उपप्रधानमनत्री समेत रहेको महासचिव मैनालीले बताए ।, “कोभिड १९ ले आहत भएका जनताको पक्षमा धेरै काम गर्न बाँकी छ, विप्लव चन्दको हत्या हिंसा बढ्दैगएको छ त्यसलाई नियन्त्रण गर्नुपर्ने छ, मुलुकको समृद्धिको काम धेरै गर्न बाँकी छ, नेकपाको नेतृत्व सचेत होस् ।” नेकपाको आन्तरिक विवादले बाह्य र आन्तरिक प्रतिक्रान्ति शक्तिले चेलखेल गर्ने अवसर पाएको पनि उनले बताएका छन् ।
जनताको हक अधिकार खुम्च्याउने दिशामा कोही जान नहुने भन्दै महासचिव मैनालीले प्राप्त भएको उपलब्धी संस्थागत गर्न अझै बाँकी रहेको बताएका छन् । “नेकपा फुटेमा हुनै लागेको काम पनि हुँदैन, कोलिसन गभर्मेन्टले पुनः निरन्तरता पाउँछ” । छिमेकी मुलुक भारतले गठबन्धन सरकार बनाउन चाहेको उनले टिप्पणी गरेको छ । “बरु पद अदला–बदली गरौं तर नेकपा नफुटाउँ” प्रधानमन्त्रीले अहिले राजीनामा दिनुपर्ने पर्याप्त कारण आइनसकेको र पार्टीको आन्तरिक विवाद सल्लाहले नै सल्टाउनुपर्ने भन्दै उनले स्थायी कमिटी बैठकले विवाद अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । गोरखापत्रबाट
Copyright © 2026, All Rights Reserved | Developed By ProTech