चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ ।

भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेको हो । नेकपा चितवनले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी दिएको छ ।

Your Ad Code Here

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिए। यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्नेछ । उनका अनुसार यी दुई कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेका हुन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिसमेत रहनुभएका रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वर्तमान राजनीतिक परिस्थितिमा आम जनसमुदायलाई चासो रहेका विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्ने रावलको भनाइ थियो । उनले भने, “नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको आगामी योजना के छ ? लगायतका समसामयिक प्रश्नमा स्पष्ट धारणा जनसमक्ष ल्याउन कार्यक्रम आयोजना गरिएको हो ।” संसद् विघटन गर्नुपरेको बाध्यात्मक परिस्थितिबारे पनि सर्वसाधारणलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने उनको भनाइ छ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम शुरु भएको छ । सङ्घीय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।

बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए। दुईवटा भर्याङ र दुइवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार ५०० वर्गमिटरमा हुने उनको भनाइ छ । जुन क्षेत्रफल एक बिघाको हुनेछ । यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुरको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम शुरु भइसकेको छ ।-रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग