भारतका एक सरसफाइ कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन एक लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाभाइरसको खोप दिइएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

कोभ्याक्सिन र कोभिशील्ड दुवै खोप दिइएको पहिलो दिन ३,३५१ खोप केन्द्र सञ्चालनमा थिए। भारतीय स्वास्थ्य मन्त्रालयले खोपपछि कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको दाबी गरेको छ। नयाँ दिल्लीमा भने केही व्यक्तिले एलर्जीको लक्षण देखिएको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब २० करोड भारतीयलाई खोप दिने लक्ष्य राखिएको कार्यक्रमको प्रशंसा गरेका छन्। उनले पहिलो चरणमा खोप प्राप्त गर्ने अग्र मोर्चाका कर्मचारीहरूको पनि प्रशंसा गरेका छन्। भारतमा अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण भएको छ।

Your Ad Code Here

‘हामी संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरिरहेका छौँ र यसले विश्वलाई हाम्रो क्षमता देखाउने छ’ शनिवार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने। उनले मोबाइल एपको प्रयोगले कोही पनि नछुट्ने गरी भारतीय जनसङ्ख्यालाई खोप लगाउन तयार भएको बताए। मोदीले खोपका सुरक्षाका बारेमा फैलिएका मिथ्या सूचनालाई विश्वास नगर्न पनि अनुरोध गरे। भारतमा पहिलो चरणमा लगभग एक करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने छ। त्यसपछि प्रहरी, सेना, नगरपालिका र अन्य स्थानका अग्र मोर्चामा खटिएका कर्मचारीको पालो आउने छ।

त्यसपछि ५० वर्षभन्दा माथिका र अन्य रोग भएका ५० वर्षभन्दा मुनिका व्यक्तिहरूलाई खोप दिइने छ। मतदाता नामावलीलाई आधार बनाएर खोप दिन थालिएको बताइएको छ। भारतको सरकारले अगस्तको मध्यसम्ममा ३० करोडलाई खोप दिने लक्ष्य लिएको छ। खोप केन्द्रहरू स्वास्थ्य चौकीहरू, विद्यालय, कलेज, सार्वजनिक भवन, नगरपालिका कार्यालय र पार्टी प्यालेसमा राखिने छन्। दिल्लीको म्याक्स अस्पतालमा खोप लिएर डा अतुल पिटर्सले भनेस् ‘यो ठूलो दिन हो। यो दिन सम्भव बनाउन काम गर्ने सबैप्रति म कृतज्ञ छु। आज बिहान सूचीमा मेरो नाम भएको फोन आउँदा म ज्यादै खुसी थिएँ।’

‘महामारीमा हामीले जीवन रक्षा गर्न कडा परिश्रम गर्‍यौँ र हामी अहिले पहिलो चरणमा यो खोप लिएर खोप सुरक्षित नभएको भन्ने हल्ला मिथ्या भएको प्रमाणित गर्दै छौँ।’ भारतको नियामक संस्थाले अक्सफर्ड विश्वविद्यालयले बनाएको खोपको स्थानीय उत्पादन कोभिशील्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई अनुमति दिएको छ। कोभ्याक्सिनलाई हतारमा तेस्रो चरणको परीक्षण समाप्त नहुँदै अनुमति दिइएको भनेर केहीले प्रश्न उठाएका छन्। तर उत्पादक र नियामकले खोप सुरक्षित भएको र परीक्षणको नतिजा फेब्रुअरीमा उपलब्ध हुने बताएका छन्। दुवै खोप २८ दिनको फरकमा दुई मात्रामा दिइने छ। दोस्रो मात्रा दिइएको १४ दिनपछि रोग प्रतिरोधी क्षमता पूर्ण अवस्थामा पुग्ने बताइएको छ।-बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग