कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ ।
नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको हो ।
सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको जनाइएको छ । बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए ।
सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताए ।
तपाईको प्रतिक्रिया