जाजरकोट । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला। सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो। यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ। पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ।

नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्।

Your Ad Code Here

यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ। यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ। काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन्।

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ सेप्टेम्बर २३ मा रामसार साइट सूचीकृत गरिएको छ। एघारौँ शताब्दीमा निर्मित शे–गुम्बा यहीँ छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ। यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ। फोक्सुण्डो ताल मात्र नभएर कर्णालीको पहिचान पनि हो। उच्च हिमालमा हिउँबाट पग्लिएको कञ्चन पानीबाट निर्मित ताल र यहाँको निकुञ्जको मनमोहक वातावरणले दुनियाँको मन लोभ्याउने गरेको छ। यसलाई जोगाउनका लागि निकुञ्जले पछिल्लो वर्ष ठूलो मेहनत गरेको देखिन्छ।

निकुञ्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए। सोही अनुसार अहिले जनसाधारणसँग निकुञ्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ। सन् २०१८ मा दुई हजार ७२ र सन् २०१९ मा चार हजार १३६ नाउर रहेका थिए। सन् २०२० को नतिजा आउन बाँकी रहेको छ।

निकुञ्जलाइ संरक्षणका लागि स्थानीयवासी र निकुञ्जको सक्रियतामा चोरी निकासी रोक्ने अभियान सफल हुँदै गएको छ। चोरी निकासीमा संलग्न ३७ थान बन्दुक निकुञ्जले बरामद गरी चोरीपैठारीलाई रोक्ने काम गरेको संरक्षणमा जुटेका स्थानीयवासी बताउँछन्। जथाभावी चोरी निकासी रोकथामसँगै निकुञ्ज क्षेत्रमा घोरल, नाउरहरू निकुञ्जको मुख्य क्याम्प रहेको सुलिगाडमै देखिन थालेको सर्वसाधारण बताउँछन्। चोरी निकासी रोकी संरक्षणमा व्यापक सुधार आएपछि वन्यजन्तुको सङ्ख्या बढेको हो।

जङ्गली जनावरबाट निकुञ्ज आसपासका क्षेत्रमा हुने क्षतिलाई मध्यनजर गरी सर्वसाधारणलाई राहत उपलब्ध गराउने कामलाई समेत तीव्रता दिइएको निकुञ्जले जनाएको छ। निकुञ्ज क्षेत्रको आसपासमा रहेका सर्वसाधारणलाई राहत, क्षतिपूर्तिका विषयमा जानकारी नहुँदा बर्सेनि पीडित बनेका सर्वसाधारण अहिले निकुञ्जको सचेतनामूलक काम गाउँगाउँमा पुर्याउँदा निकुञ्ज र स्थानीयवासीका बीचमा समन्वय सहकार्यका साथै आपसी सदभावसमेत राम्रो भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग