काठमाडौं, मंसिर १७ । टेस्ला मोडल थ्रिका गाडीमा मूल्य घटाएर नेपाल आयात गरेको देखाई करोडौंंको राजस्व ठगी गरेको देखिएको छ । चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको बिल पेस गरिएपछि करोडौं रुपियाँको राजस्व चोरी भएको पाइएको छ ।

Your Ad Code Here

गाडी अन्डर बिलिङमा आएको देखिन्छ । अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि झुक्काएर १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर ल्याएको छ’, गाडी आयातमा दशकौंदेखि सक्रिय एक विज्ञले भने– ‘नेपालको भन्सार कार्यालयमै रहेका भ्रष्ट कर्मचारीको सहयोगमा राजस्व चोरी भएको देखिन्छ ।’

गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४ सय ५० रुपियाँ देखाइएको छ भने भन्सार शुल्क बापत १६ लाख ६४ हजार रुपियाँ तिरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

अल ह्वील ड्राइभ सिस्टम जडान भएको टेस्ला मोडल थ्रिमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको तर्क दिँदै १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेको छ । तर, यसमा पछाडिको चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटर पनि दिइएको छ, ती विज्ञले विवरण दिए– ‘अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।’

यस क्षमताको मोटर प्रयोग भएको गाडीले ६० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने हुन्छ । कम्पनीले अहिले ८ लाख ७३ हजार ६ सय ९५ रुपियाँ अन्तःशुल्क तिरेको देखिन्छ, जब कि उसले ६० प्रतिशत अन्तःशुल्क बापत ३४ लाख ९४ हजार ७ सय ७८ रुपियाँ तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा कम्पनीले अन्तःशुल्कमा प्रतिगाडी २६ लाख २१ हजार ८३ रुपियाँ छली गरेको देखिन्छ ।

अन्तःशुल्क पछि यसरी आधिकारिक वितरक नभई आएको गाडीमा ३० प्रतिशत अतिरिक्त शुल्क लाग्छ । उक्त शुल्क बापत कम्पनीले १२ लाख ४८ हजार १ सय ३५ रुपियाँ तिरेको छ ।

भन्सार, अन्तःशुल्क, अतिरिक्त शुल्क, भ्याट र सडक निर्माण दस्तुर बापत कम्पनीले कुल रकम ५० लाख ३५ हजार २ सय ४९ रुपियाँ तिरेको देखिन्छ । यसरी मोटर क्षमता लुकाएर कम्पनीले एउटा गाडीमा कुल ३८ लाख ३६ हजार २ सय ८३ रुपियाँ राजस्व चोरी गरेको देखिन्छ ।नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग