कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ ।
लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखि सो अभियान शुरु गरेको हो ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले महिलामाथि हुने हिंसा, बलात्कारका घटना बढिरहेको बताए ।
“बलात्कार, हिंसाका घटनाको पछाडि सामाजिक सञ्जाल र मादकपदार्थ दुव्र्यसन प्रमुख कारण बनेको देखिन्छ” उनले भने, “यसको न्यूनीकरणका लागि नेपाल प्रहरीलाई समाजको सहयोग आवश्यक हुन्छ ।”
जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंह, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलगायतले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सम्बन्धित सबै पक्ष सक्रिय हुनुपर्ने बताए ।-रासस
तपाईको प्रतिक्रिया