काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगनगाँठो कस्ने प्रस्ताव नआएको बताएका छन् ।
अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने प्रस्ताव पार्टीमा नआएको बताउदैं यस्तो बताएका हुन् । । संसद विघटन गर्ने ओलीको कदमलाई पार्टीले प्रतिगमन मानेको भन्दै उनले प्रतिगनकारीसँग कुनै सहकार्य नहुने समेत बताए ।
अध्यक्ष यादवकाअनुसार सरकार गठनबारे प्रमुख प्रतिपक्षी र अन्य दलहरुको समझदारी बन्न सकेको छैन । यस्तो अवस्थामा जसपाले निर्णय गर्दैमा निकास पनि ननिस्कने भन्दै उनले भने, ‘प्रमुख प्रतिपक्षीको निर्णयमा अरु निर्भर गर्छ ।’ यद्यपि संसद विघटनको विपक्षमा रहेका शक्तिहरु मिलेर मुलुकलाई निकास दिनुपर्ने उनले प्रष्ट पारे ।
संसद विघटन गर्नु असंवैधानिक र प्रतिगमनकारी कदम हो भनेर पार्टीले निर्णय गरेको भन्दै अध्यक्ष यादवले, ‘जब ओली प्रतिगमनकारी हो, गणतन्त्र, संघीयतालाई समाप्त पार्नकै लागि संसद भंग गर्न खोजेको हो भने उनीसँग सहकार्यले के प्राप्त हुन्छ ? ओलीसँगको सहकार्यले संघीयता बलियो हुन्छ ?’
उनले अघि भने, ‘हुँदैन भन्ने विगतमा प्रमाणित भइसकेपछि मरिहत्ते गरेर के प्राप्त हुन्छ ? यो मधेस आन्दोलनका लागि धोका हुन्छ ।’ ओलीसँग सहकार्य गर्नु लोकतन्त्रलाई धरापमा पार्नु र संघीयतालाई समाप्त पार्नु भएको समेत यादवले बताए । पार्टीमा अहिलेसम्म कसैले पनि ओलीसँग सहकार्य गर्ने भनेर प्रस्ताव नल्याएको समेत उनले बताए । अध्यक्ष यादवले भने, ‘कसैले प्रस्ताव ल्याउनुभएको छैन । हामी प्रतिगमनकारी शक्तिविरुद्ध उभिन्छौं, उनीसँग लगनगाँठो कस्न सक्दैनौं ।’
तपाईको प्रतिक्रिया