रसुवा । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ।
नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो। यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ।
गोदाम र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ। अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए। उनले आयात भएका सामग्री नेपाली कन्टेनरमा रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए।
चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो। गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पुर्याएका सामग्री भन्सार हातामा आएका थिए। आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेके छैन।
उनले माल सामग्री बोकि आएका करीब ८० मालवाहक ट्रकरकन्टेनर भन्सार हातामा रहेको जानकारी दिए। सामान आयात गर्ने व्यापारीले आफ्नो कन्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ। भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन्।
बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ। भन्सार शुल्कबापतको राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ।
कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न केरुङसम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पुर्याई चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ।
हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पल लगायत विविध सामग्री छन्। -रासस
तपाईको प्रतिक्रिया