काठमाडौँ । ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि बाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ ।
सुन्दरीजलबाट गोकर्णसम्मको करिब सात किमी नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमिन पाएका छन् । पचास वर्षपछि नदी पुरानै धारमा फर्काइँदा स्थानीयवासीले एक हजार १०० रोपनी जग्गा पाएको यसको नेतृत्व गर्नुभएका अभियानकर्मी केशवप्रसाद पुडासैनी बताए ।
वाग्मतीलाई पुरानै धारमा फर्काउने अभियानको नेतृत्व गर्दा एक महिना तीन दिनसम्म असहमत पक्षले धम्की दिएको उनले बताए । “जग्गा पुरानो धारमा फर्काउन ३३ दिन लागेको समयमा म ३१ रातसम्म त आफन्तकहाँ गएर बसेँ, एक दिन नगरकोट र एक दिन बाह्रबिसे बसेर काम सक्ने समय गुजारेँ”, नदीको जग्गामा कमाइ खाएकाको धम्की सहनुपर्दाको पीडा सुनाउँदै पुडासैनीले भनेका छन् ।
वाग्मतीलाई पुरानै धारमा फर्काउन २०६६ पुस १९ गते सम्झौता भएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष महेशबहादुर बस्नेत र नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका तत्कालीन प्रमुख उपरथी नरेशबहादुर बस्नेतबीच सम्झौता भई मुहान क्षेत्रको वाग्मतीलाई २०२१ सालमा भएको नापीको बहाव क्षेत्रमा फर्काउने अभियान शुरु भएको हो । रासस
तपाईको प्रतिक्रिया