काठमाडौँ । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ खालको कोरोना भाइरस फैलिन थालेपछि खाडीका देश साउदी अरब, ओमान, कुवेतले अन्तर्राष्ट्रिय उडान बन्द घोषणा गरेका छन् ।
साउदीले सोमबारदेखि नै लागू हुने गरी व्यावसायिक यात्रुवाहक हवाई उडान एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिन थालेपछि साउदी अरबले एक साताका लागि यात्रुवाहक हवाई उडान बन्द गर्ने घोषणा गरेको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार उक्त अवधिसम्म साउदी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सबै यात्रुवाहक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । साउदी अरबका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंहले साउदी अरबको गृह मन्त्रालयको भनाइ उद्धृत गर्दै साउदीले विशेष परि स्थितिमा मात्रै उडान अनुमति दिने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि कुवेत र ओमानले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेका थिए ।
खाडीका देशले अन्तर्राष्ट्रिय उडान बन्द गर्दा वैदेशिक रोजगारीका लागि ती देशमा रहेका नेपाली श्रमिकसमेत प्रभावित भएका छन् । दूतावासका अनुसार करार अवधि सकिएका, कोरोना भाइरसका कारण रोजगारी गुमाएका र घर बिदामा आउने तयारी गरेका श्रमिक उडान बन्द भएपछि रोकिएका छन् ।
साउदी अरब नेपाली श्रमिकको तेस्रो ठूलो श्रम गन्तव्य मुलुक हो ।
तपाईको प्रतिक्रिया