काठमाडौँ । कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले त्रिभूवन विश्वविद्यालयले हिउँदे बिदा नदिने भएको छ ।
यस वर्ष त्रिभूवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले हिउँदे बिदा नदिने भएको हो । त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले कोभिड–१९ का कारण पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा नदिने जानकारी दिएका छन् ।
त्रिविले प्रत्येक वर्ष हिउँदे पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ ।
रजिष्ट्रार डा. दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् । त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । उनले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न किर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताए ।
तपाईको प्रतिक्रिया