काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकमा भाग लिन गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ बालुवाटारमा उपस्थित भएका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक ढिलो गरी भर्खर बालुवाटारमा शुरुभएको छ । केन्द्रीय सदस्य दिपक देवकोटाका अनुसार बैठकको कार्यसूची तयारी र अन्य गृहकार्यका कारण बैठक निर्धारित समयभन्दा ढिलो हुन पुगेको हो ।
बैठकमा नेता बादल सहभागी भएको नेता देवकोटाले जानकारी दिएका छन् । आज नेता बादलले आफ्नो औपचारिक धारणा बैठकमा सार्वजनिक गर्ने बताएका छन् ।
आजको बैठकमा थप भएका नयाँ केन्द्रीय सदस्यहरुको शपथ ग्रहण र जिम्मेवारी तोक्ने कार्यसुची रहेको केन्द्रीय सदस्य देवकोटाले जानकारी दिएका छन् । उता प्रचण्ड–नेपाल समूहको भेला पनि ववरमहलस्थित कार्की बैङ्क्वीटमा शुरुभएको छ । यसअघिसम्म उपाध्यक्ष बामदेव गौतम र नेता बादल तटस्थ भएका थिए ।
अब बादल ओली समूहमा प्रवेश गरेपछि आज साँझसम्म नेता गौतमको पनि औपचारिक धारणा सार्वजनिक हुनसक्ने भनाई गौतम सचिवालयका सदस्यहरुको रहेको छ ।
तपाईको प्रतिक्रिया