काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन् ।
राष्ट्रपतिले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहेका फरक क्षमता भएका सबैलाई दिएकी शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।
राष्ट्रपतिले अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक धारणा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिप्रति समाज र सरोकारवालाको व्यवहारमा परिवर्तन ल्याउन यस दिवसको महत्त्व रहेको चर्चा गरिएको छ ।
राष्ट्रपतिले “फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरूको सहज पहुँच स्थापित गर्न अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने मैले महसुस गरेको छु ।” भनेकी छन् ।
उनले फरक क्षमता भएका व्यक्तिहरूको क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने यस दिवसको उद्देश्य छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।गोरखापत्रबाट
तपाईको प्रतिक्रिया