सप्तरी (फत्तेपुर) । खानेपानीमन्त्री बीना मगरले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएकी छन् ।
बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले यस्तो बताएकी हुन् । समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो ।
समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताईन । चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताईन् ।
“विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन”, उनले भनिन्, “विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।” सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताईन् । रासस
तपाईको प्रतिक्रिया