सप्तरी(फत्तेपुर)।बीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७ र ७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यो अवधिमा भारततर्फ ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको मालसमान भारत निकासी भएको हो ।चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा वीरगञ्ज नाकाबाट भएको भारतसितको व्यापारमा मात्रै ४५ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा भएको भन्सारको तथ्यांकले देखाएको हो ।

Your Ad Code Here

भारतबाट आयात हुनेमा वस्तुमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य छन् । पछिल्लो समयमा अधिकांश आयातित वस्तुको परिमाण घटेको भन्सार अधिकृत रमेश सुकमनीले बताए । कोरोना महामरीका कारण बजारमा परेको प्रभाव आयातमा पनि देखिएको सुकमनीले बताए ।

नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल कायमै छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च भएकोमा भारतले आयात रोकेपछि स्वदेशी तेल उद्योगले भटमासको तेल निकासी बढाएका छन् ।

चालू आवको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो यस्तो तेल भारत निकासी भएको छ । वीरगञ्ज भटमासको तेल निकासी हुने मुख्य नाका हो । यो नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले तेल निकासी गर्छन् ।

गत आव २०७६ र ७७ को साउनदेखि मङ्सिरसम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३७९ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग