सप्तरी (फत्तेपुर) । तराईका चरा काठमाडौंमा देखिन थालेका छन् ।
तराईका झण्डै एक दर्जनभन्दा बढी चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् ।
जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा. हेमसागर बरालले बताए । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् ।
उनको अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ । “गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौँमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा. बरालले भने । यो मात्र हैन केही दिनअघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनु पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ ।
यसैगरी तराईकै चुइयाँ चराका विभिन्न प्रजाति पनि यसै वर्ष उपत्यका भित्रिइसकेका छन् । पानी चुइयाँ चराले मनोहरा खोलामा पौडी खेलेको छ । सन् १९९२ यताका पहिलोपल्ट काठमाडौँ उक्लेको लालकण्ठे चुइयाँ चराले दोहोर्याएर यसपालि उपत्यका आएको छ । मालक र सुनजुरे चरा पनि दोहोयाएर उपत्यका भित्रेका छन् । अहिले चराको स्वर्ग मानिने कोसी टप्पु, कपिलवस्तु र चितवनभन्दा पनि काठमाडौँ उपत्यकामा चराको आवतजावत बढेको छ । पहिले कहिल्यै नआएका चरा पनि काठमाडौँमा रेकर्ड भएका छन् । तराईको बाज रातो टाउके पौडाइ र सेता थोप्ला हुने सुन्दर कालो सारौँ पनि काठमाडौँ पुगेको छ ।
भक्तपुरको बोडे गाउँबाट तल झरेपछि आउने मनोहरा फाँट अहिले फिरन्ते चराको मुख्य आकर्षण बनेको छ । सुन्दर चरा आउन थालेपछि स्थानीय चराको फोटो खिच्न र चरा हेर्नकै लागि त्यहाँ जम्मा हुन थालेका छन् ।
विगत चार वर्षदेखि मनोहरा खोलामा चरा हेर्न थालेका फोटोग्राफर सञ्जय श्रेष्ठले यसअघि कहिल्यै नदेखिएका चरा मनोहरा खोलामा देखिन थालेको बताएको छ । “कति राम्राराम्रा चरा आउँछन्, हेर्न र फोटोमा कैद गर्न हरेक दिन मनोहरा पुग्छु”, उनले सुनायो । श्रेष्ठका अनुसार नेपालका तराई भेगसँगै साइबेरिया र रुसबाट पनि यहाँ फिरुन्ते चरा आउने गरेका छन् । चराविद् बरालका अनुसार कोभिड सङ्क्रमणका कारण मानिसको जमघट उपत्यकामा कम हुँदा पर्यावरणमा परेको सकारात्मक प्रभावले यसरी उपत्यकामा चरा आउन थालेको हो । जलवायु परिवर्तनको असरले काठमाडौँको तापक्रम जाडोमा पनि तातो हुन थालेकाले पनि तराईका चरा आउनसक्ने वातावरण सिर्जना भएको उनको भनाइ छ ।
खोला तथा सिमसार छेउमा काँसघारी बन्नु र माथितिर सल्लाको वन हुनाले पनि चराको आकर्षण यस क्षेत्रमा बढेको अनुमान उनले गरेको हो । काठमाडौँको मनोहरा फाँटको एक हजार मिटर आसपासमै अहिले धेरै सुन्दर चरा देखिने स्थान बनेको छ ।
तपाईको प्रतिक्रिया