सप्तरी (फत्तेपुर)। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणमा मुलुकको ध्यान गइरहे पनि सरकारले भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रगति विवरणले देखाएको छ ।

झोलुङ्गे पुल, सडक पुल, खानेपानीका ट्याङ्की, सम्पदा पुनर्निर्माण, एकीकृत बस्ती विकासका योजना भूकम्प पछिको पुनर्निर्माणको कामले कोरोनाको अवधिमा समेत उच्च प्राथमिकता पाएको हो । अहिले गाउँदेखि सहरसम्म कच्ची भएका सडक कालोपत्रे भएको तथा गोरेटो बाटो ग्राभेलयुक्त र पक्की भएको छ ।

Your Ad Code Here

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागबाट गत आर्थिक वर्षमा मात्र ३४२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक निर्माण १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर, सडक नियमित मर्मतसम्भार एक हजार ७१६ किलोमिटर निर्माण भएका छन् ।

त्यस्तै सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न भएको, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको र ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएको छ ।

चालूू आर्थिक वर्षभित्र छ सय झोलुङ्गे पुल निर्माण हुँदै छन् । चार हजार आठ सय हेक्टर क्षेत्रमा साना सिँचाइको सुविधा पुग्नेछ । देशभरकै स्थानीय तहले आवधिक योजना तर्जुमा गर्ने लक्ष्यसहित मन्त्रालयले काम धमाधम अगाडि बढाइरहेको मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिए।

चालूू आर्थिक वर्षको पहिलो चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण भएको, सडक कालोपत्रे १४ किलोमिटर, सडक स्तरोन्नति ३६ किलोमिटर, सिँचाइ तथा बहुउपयोगी छवटा योजना सम्पन्न, चार लाख ७२ हजार श्रम दिनको रोजगार सिर्जना भएको, एउटा सडक पुल निर्माण भएको छ । साथै ८१३ किलोमिटर सडक मर्मत गरिएको, तीनवटा खानेपानी आयोजना सम्पन्न भएको, १६५ वटा झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण भएको मन्त्रालयले जनाएको छ ।

“लक्ष्य प्राप्ति गर्ने गरी मन्त्रालयले योजनाबद्ध रूपमा काम अगाडि बढाइरहेको छ”, सहसचिव गौतमले भने, “मन्त्रालय अन्तर्गत गर्नुपर्ने भौतिक विकासको कामलाई उच्च प्राथमिकता दिएर हामीले काम गरिरहेका छौँ ।”

अहिलेसम्म मन्त्रालय अन्तर्गतका कार्यालयको काम सन्तोषजनक छ तर सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गराउने जिम्मेवारी पाएका हामीले सन्तोष मानेर बस्ने अवस्था छैन भन्दै उनले दोस्रो चौमासिकमा अहिलेभन्दा भौतिक प्रगति बढी गर्ने गरी काम भइरहेको बताए ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले विभागले लक्ष्य गरे अनुसारका झोलुङ्गे पुल, सिँचाइ, सडक कालोपत्रे लगायतका योजना पूरा गर्ने गरी भौतिक रूपमै काम तीव्र पारेको बताए ।

उनले भने, “विकासको काम सहरदेखि गाउँसम्म भएका छन् चालूू आर्थिक वर्षका सञ्चालित योजना पूरा हुँदा नागरिकका अपेक्षा अनुसार नै काम हुन्छ ।” गोरखापत्रबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग