सप्तरी (फत्तेपुर)। चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् ।
प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्योल देखिएको हो । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको छ ।
चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोभिड–१९ का कारण रोकिन पुगेको जानकारी दिए ।
उनले कोभिडका कारण रोकिएको परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते तय गरेको भन्दै विभिन्न चार विषयमा मुद्दा परेपछि अहिले रोकिन पुगेको बताए। ‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’’, डा गिरीले थपे, “समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ ।”
स्नातकोत्तर तहको अध्ययन गर्न डा प्रकाश बन्जाडेले पनि परीक्षा फाराम भरेका थिए । डा बन्जाडे यतिखेर माल्दिभ्समा कार्यरत रहेका छन् । उनी स्नातकोत्तर तह अध्ययन गर्न फाराम भर्न बन्दाबन्दीको अवस्थामा आएका थिए । चिकित्सा शिक्षा आयोगले असोज अन्तिममा परीक्षा तोकेपछि परीक्षा दिने तयारीका साथ नेपाल आए ।
परीक्षा अनिश्चित बनेपछि पुनः माल्दिभ्स फर्किए । कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उनका भनाई छ । परीक्षा दिइहाल्न पाए ढुक्क हुने थिएँ, डा बन्जाडेले भने, “परीक्षा अनिश्चित र अन्योल हुँदा भइरहेको काममा असर पुगेको छ ।
डा गिरीले स्वास्थ्य विधाका सम्पूर्ण चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी परीक्षाको तयारीमा रहेको बताए । डा गिरीका अनुसार जम्मा एक हजार छ सय सिटका लागि आठ हजारले दरखास्त दिएका छन् । दरखास्त दिनेमा अर्थोपेडिक, न्युरो सर्जरी, सर्जरी, पेडियाट्रिक, जनरल सर्जन, क्लिनिकल, जनस्वास्थ्यका विषय, ल्याब, नर्सिङ, फार्मेसी, फर्माकोलोजी लगायत छन् ।
विदेशी विद्यार्थी भर्नाको विषय, चिकित्सा शिक्षा ऐनमा समानुपातिक कोटा नछुट्याएका कारण, सरकारी चिकित्सकले सरकारी सेवामा कार्यरत अस्थायी, करार, प्रतिष्ठान र विकास समितिमा कार्यरत चिकित्सक सरकारी चिकित्सक सरह मान्यता नदिन सर्वोच्चमा मुद्दा हालेका कारण असोजमा हुने परीक्षा रोकिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech