बैतडी। उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ ।

खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो । चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

Your Ad Code Here

उनले भने, “दुई मुद्दाको फैसला भइसकेको छ भने दुई विचाराधीन अवस्थामा छन्, फैसला भएका मुद्दामा एक मिठाइ पसले र एक होटललाई रु पाँच÷पाँच हजार जरिवानाको फैसला भएको छ ।” फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थवाला रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै सातवटा दर्ता तयारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने “बजार अनुगमनका क्रममा २७ वटा नमूना सङ्कलन गरिएका थिए, सङ्कलित नमूनामध्ये प्रयोगशालामा परीक्षण गर्दा सातमा कैफियत रहेकाले मुद्दा दर्ताको तयारी भएको हो ।”

संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल चार व्यापारीलाई रु सात हजार ५०० जरिवाना गरिएको जनाएको छ । अनुगमन टोलीले चालु आवको हालसम्म बजार अनुगमनका क्रममा रु आठ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको जनाएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेकका अन्य स्थानीय तहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाइएको छ । अनुगमन कार्यलाई केही दिनमै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग