कोभिड-१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए। यो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो।
फोक्सोका विज्ञहरूका अनुसार फोक्सोमा परेको दीर्घकालीन असर पत्ता लगाउने परीक्षणले कोभिड-१९ का बिरामीहरूलाई धेरै फरक पार्छ। जिनन विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ।
सो विधिको अगुवाइ गरिरहेका प्राध्यापक फर्गस ग्लीसनले १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमा परीक्षण गरेका थिए। तीमध्ये आठ जनाले सङ्क्रमित भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आएको अनि थकान अनुभव भइरहेको बताएका थिए जबकि उनीहरू कसैलाई पनि सघन उपचारको वा भेन्टिलेसनको खाँचो परेको थिएन।
साधारण स्क्यान गर्दा उनीहरूको फोक्सोमा कुनै खराबी पनि भेटिएको थिएन। तर नयाँ विधिबाट जाँच्दा फोक्सोको क्षति देखियो। त्यहाँ रगतमा सजिलै सास नमिसिएको देखिएको थियो। यो नतिजापछि अब प्राध्यापक ग्लीसनले १०० जनामा परीक्षण गर्ने योजना बनाएका छन्। अस्पताल भर्ना नभएका र गम्भीर लक्षण नदेखिएका विभिन्न उमेर समूहका बिरामीहरूको उनले परीक्षण गर्नेछन्।
उनको मुख्य उद्देश्य फोक्सोको क्षति जाँच्नु र त्यो स्थायी हो वा होइन भनेर हेर्नु रहेको छ। उनले भने, ‘फोक्सोमा केही क्षति पुगेको होला भनेर त मैले ठानेको थिएँ। तर यो स्तरमा होला भनेर सोचेको थिइनँ।’
६० वर्षभन्दा माथिका उमेरका मानिसमा गम्भीर कोभिड-१९ र कोभिड-१९ बाट हुने मृत्युको सम्भावना बढेको पाइन्छ। तर यदि यो परीक्षणले विभिन्न उमेर समूहका मानिस अनि अस्पताल जान नपरेका मानिसमा पनि फोक्सोमा क्षति पुगेको देखायो भने त्यसले धेरै कुरा बदलिदिन सक्छ।बीबीसी
Copyright © 2026, All Rights Reserved | Developed By ProTech