काठमाडौं । कक्षा १२ को परीक्षाफल एक महिना भित्रै प्रकाशित गर्न तयारी थालेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल एक महिना भित्रै प्रकाशित गर्न तयारी थालेको हो । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनात्रित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जनाएको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी दिए । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।
४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलको भनाई छ।
उनले भने– ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।
अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताए। बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech