एजेन्सी। कोरोना भाइरसविरुद्धको खोप विकास भइरहेको खबरले विश्वभर खुशी छाएको छ ।
विकसित देशका केही कम्पनिहरुले कोरोना भाइरसको खोप विकासको अन्तिम चरण पुगेको जानकारी दिन थालेका छन् । खोपको प्रभावकारिताको दाबी धमाधम सार्वजनिक भइरहेको छ ।
उनीहरुले २०२० को अन्तभित्र खोप उत्पादन गरी प्रयोगमा ल्याउने समेत जनाएका छन् । यद्यपि, खोपको विकास जति चुनौतीपूर्ण बनिरहेको छ उत्तिकै चुनौतीपूर्ण यसको सुरक्षित भण्डारणको रहेको छ ।
अहिले विकास भइरहेको कोरोना भाइरसविरुद्धको खोप उत्पादन भइसकेपछि चीस्यान चाहिने हुन्छ । माइनस ७० डिग्रीभन्दा कम तापक्रममा समेत चिस्याएर भण्डारण गर्नुपर्ने हुन्छ । उदाहरणका लागि फाइजरले विकास गरेको भ्याक्सिन न्यूनतम ७० डिग्री तापक्रममा भण्डारण गरेमा लामो समय सुरक्षित राख्न सकिन्छ ।
यो भ्याक्सिन माइनस २० को तापक्रममा राख्दा ६० दिन र ८ डिग्रीसम्म राख्दा ३० दिन र कोठाको तापक्रममा १२ घन्टामात्र सुरक्षित राख्न सकिने उल्लेख छ । भ्याक्सिन विकाससँगै चिस्याउने र भण्डारण गर्ने चुनौती बढी देखिन्छ ।
धनी देशहरुले चिस्याउने प्रविधिका लागि खर्च गर्न सक्छन् । तर, गरिब देशहरुका लागि त्यो सम्भव बनाउन निकै कठिन देखिन्छ । कतिपय तापक्रम बढी रहेका देशहरुमा चिस्याउँदै एक ठाउँबाट अर्को ठाउँमा खोप पुर्याउन उत्तिकै चुनौती हुनसक्छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech