काठमाडौँ । नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैङ्कले नयाँ नक्सा अङ्कित सिक्का प्रचलनमा ल्याउने भएको छ ।
नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृतिसमेत प्रदान गरिसकेको जनाइएको हो ।
नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैङ्कले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा अङ्कित सिक्का टङ्कनको तयारी गरिर्दै नापी विभागबाट लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा लिने काम भइरहेको बताउँदै उनले सिक्का छाप्न बोलपत्र आह्वान गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
‘‘मुलुकको नयाँ नक्सा अङ्कित सिक्का छाप्न मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृतिअनुसार एक रुपियाँ दरको सिक्का ३० करोडवटा र दुई रुपियाँ दरका १० करोडवटा छाप्ने तयारी भइरहेको छ,’’ सहायक प्रवक्ता पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया