काठमाडौं । केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीले नीतिविपरीत गुटगत भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेका बेला बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरुको निर्देशन नमान्न सांसदलाई निर्देशन दिएको छ । बैठकले गुट भेलामा जानेलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन आह्वान गर्ने निर्णय गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टीको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढ्नेछ । बैठकले पार्टीको आगामी ७ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा पनि नआउनेलाई विधानअनुसार स्पष्टीकरण सोध्ने र आवश्यकतानुसार कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले एमाले संसदीय बोर्ड गठन गरेको छ ।
उक्त बोर्डमा पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि समावेश गरिएको छ । बैठकले खनाल-नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डको प्रमुख पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली रहनभएको छ । बोर्डको सदस्यहरुमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीलाई पदेन सदस्य बनाइएको छ ।
झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमणि राना, मोहन बानियाँ, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक बोर्ड सदस्यमा चयन हुनेभएको छ ।२७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गरिने तामाङले जानकारी दिए ।
बोर्डमा खनाल-नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका सांसद रहेका छन् । ओली समूहले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूहका सांसदहरु भने सहभागी भएका थिएनन् । केही सांसदहरु बालुवाटार हिँडे पनि बीच बाटोबाटै ललितपुरमा जारी भेलामा फर्किएका थिए । -नेपाल समाचारपत्र दैनिकबाट
तपाईको प्रतिक्रिया