सप्तरी । तिलाठी कोइलाडी गाउँपालिकामा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।
बुधबार राति सप्तरीकै सोही गाउँपालिका–५ स्थित हरिकिसुन खंगको घरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको वडा अध्यक्ष राजेन्द्र साहले जानकारी दिएका हुन् ।
आगलागीबाट खंगसहित रामचन्द्र खंग, नकछेदी खंगको चार घर र घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट हरिकिसुन गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्सबाट राति नै राजविराज ल्याइएको गाउँपालिका अध्यक्ष सतिशप्रसाद सिंहले बताए ।
राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा बर्साइन प्रहरी चौकी, हनुमाननगरस्थित सशस्त्र प्रहरी बल, बर्साइन कुशहाको सशस्त्र प्रहरी बलको टोली तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो ।
तपाईको प्रतिक्रिया