भीमेश्वर । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग निर्माण शुरु हुने भएको छ ।
लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् ।
सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ ।
विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजनानुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ ।
दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री गुरुङले बताउँदै आएका थिए। माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।
सो मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समाथिको भागमा करीब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।सो सुरुङसँगै थप नौ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ । सो मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडकका रुपमा लिन सकिने मन्त्री गुरुङले बताएका छन् ।
चीनको तिब्बतदेखि भारतको भित्तामोठसम्मको सो सडक निकै छोटो दूरीको हुने भएकाले दुवै देशका सामान लैजान र ल्याउनसमेत सहज हुनेछ । भारतको सिमानादेखि लामाबगरसम्म पक्की सडक निर्माण यसअघि नै भएकाले लामाबगरदेखि लप्ची र चीनको नाकासम्म सडक जोड्न बाँकी रहेको स्थानीयवासीले बताएका छन् । रासस
तपाईको प्रतिक्रिया