काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरुले प्रतिनिधिसभा पुनस्र्थापना नहुने बताएका छन् । बारका पूर्वअध्यक्षहरू हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले विज्ञप्ति जारी गरेका छन् ।
जारी विज्ञप्तिमा “प्रधानमन्त्रीद्वारा अभिव्यक्त एकजना बाजे वकिलले पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो ? भन्ने अभिव्यक्ति, वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानुन व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ?, के गर्छन् ति वकिलले भनि सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न नसकिने भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको छ । प्रमको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।” उल्लेख छ ।
जारी विज्ञप्तिमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतका जिवित इतिहास भएको उल्लेख छ । “पञ्चायतकालमा स्व. बीपी कोइराला, रामराजाप्रसाद सिंह र स्वयम् प्रधानमन्त्रीलाई झापा आन्दोलनको क्रममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्ट साध्य यात्रा गर्ने साहसिक कानुन व्यवसायी पनि हुनुहुन्छ,”विज्ञप्तिमा भनिएको छ, “यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्ष्ँमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य बचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर रहेको छ ।”
तपाईको प्रतिक्रिया