काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थालेका छन् । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदाहरु अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् भने केही निर्माण सम्पन्न भइसकेका छन् ।
यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुनसकेको छैन ।
हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।
यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोगको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोकहरु यहाँको अन्य महत्वपूर्ण सम्पदाहरु हुन् । रासस
तपाईको प्रतिक्रिया