काठमाडौँ । नेता घनश्याम भुसालले अब केपी शर्मा सेटिङले देश नचल्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आज भृकुटीमण्डपमा आयोजित विरोधसभामा पुष्पकमल दाहाल(माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता भुसालले अब ओलीको सेटिङले देश नचल्ने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले सेटिङ गरिरहेका छन् सबैले भन्ने गरेका छन्, तर अब केपी ओलीको सेटिङले देश चल्दैन ।’ उनले भनेका छन् । ‘सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ ।’
उनले थप्दै ‘२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ ।’ भनेका छन् ।
उनले ‘संविधानलाई बन्धक बनाएर केपी ओली तान्डव नाच्दै हुनुहुन्छ । विभिन्न जालझेल गरेर भए पनि आफूले जित्ने निश्चित नभएसम्म केपी ओलीले चुनाव गराउनुहुन्न । कसैले चुनावको अपेक्षा गरेका छन् भने त्यो भ्रम हो । चुनाव हुनेवाला छैन ।’ भनेका छन् ।
तपाईको प्रतिक्रिया