गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् ।
थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्होको अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताए ।
राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको उल्लखे गर्दै प्रदेश प्रमुख शेरचनले भने, “यो बेला धमिलो पानीमा माछा मार्न सकिन्छ भनेर कसैले सपना देखेको छ भने त्यसलाई आम नेपालीको एकताले पराजित गर्नुपर्छ ।”
नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै उनले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गरे। आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा राज्यले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै उनले असमानता र विभेदका विरुद्ध धेरै आन्दोलन भएको बताए ।
प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले तीन गाउँले थकाली समुदायको थातथलो रहेको मुस्ताङको विकासका लागि आफूले उच्च महत्वका साथ पहल गर्दै आएको जानकारी दिए ।-रासस
तपाईको प्रतिक्रिया